
विनोद पौडेल
यतिबेला सामाजिक संजालमा पानीपुरी बेच्ने एकजना मधेसी वर्णका युवाको फोटो भाइरल बनेको छ । फोटोमा भुइँ भरि पानीपुरी तयार गर्ने सामग्रीहरु छरपस्ट पोखिएका छन् भने ति युवा पोखिएको सामान समाल्दै छन् । देख्दै मायालाग्दो त्यो तस्विरमा लाइक कमेन्ट र सेयरको श्रीङ्खला चलेको छ । कतिपयले स्यावास नेपाली दाजुभाइ यो धो*तीको पानीपुरी पोखिदिएर ठिक गर्यौ भन्ने कमेन्ट गरेका छन् भने कसैले यो भारतिय नागरिक हो यसलाइ यसरीनै लखेट्नुपर्छ भनेका छन् । यसो गरिरहँदा कसैले पनि एउटा मानवियता र धर्म ख्याल गरेका छैनन् । दिनभरि पानीपुरी र चटपटे बेचेर ‘सुका’ र ‘मोहोर’ समाल्दै आफ्नो विहान बेलुका हातमुख जोर्ने ति युवालाइ देख्दा हाम्रो मनले उनीप्रति सहानुभुती जनाउनु पर्थ्यो, माया र सद्भाब दिइनुपर्थ्यो तर त्यसको ठिक उल्टो एउटा आफ्नो श्रम गरेर खानेलाइ हामीले गाली गलौज र तिरस्कार गरेका छौं, हाम्रा सामाजिक संजाल उनकै फोटो राखेर #व्याकअफइन्डिया लेखेका छौं । विचरा ति युवा नेपाली नागरिक हुन् अथवा भारतिय त्यो हाम्रो सरोकारको कुरा भएन, उनले त आफ्नो काम गरेर खाएका छन् । भारतले नेपालमा राजनैतिक हस्तक्षेप गर्नुमा विचरा ति युवाको के दोश र हामीले उनको श्रम खोस्दै गालि गलौज गर्ने? यसरी नै चोकचोकमा कपालकाट्ने, शहरको एउटा कुनामा मिठाइ बनाउनेहरु, र हाम्रा घर रंगाउदै गरेका भारतियहरुलाइ भारत फर्क भन्दै लखेट्न थालियो भने हामी कहाँ पुगौला र हाम्रो तिनीहरुसँग अहिले भएको घनिष्ठता कहाँ पुग्ला? एक पटक सोचौं त हामीहरु पनि देशमा रोजगारी नहुँदा श्रम गर्न भारत मात्रै हैन त्यो भन्दा हजारौ गुणा टाढाको दुरिमा पुग्न बाध्य छौं । आफ्नो श्रम गरेर खानेलाइ तिरस्कार गर्ने हो भने हाम्रो के हालत होला?
लामो प्रतिक्षा र कसरत पछी देशमा संविधान बनेको छ, त्यो पनि एेतिहासिक संविधानसभाबाट ९१ प्रतिशत जनप्रतिनिधीको समर्थनमा । दुनियामा कंही संभव नभएको कुरा हामीले संभव गराएर उदाहरण बनेका छौं । नेपालको संविधानको विश्वले स्वागत गरेपनि भारतले समर्थन गर्न हिचकिचाएको छ । कारण उसका नेपालमाथी थुप्रै स्वार्थ छन्, नेपाल बलियो भयो भने नेपालबाट पाइने फाइदाहरु नपाउने त्रास छ भारतसँग । त्यसैले कुनै पनि बाहनामा संविधान जारी गर्न नदिने अथवा लागुभए पनि भारतको हितमा मात्रै हुने उसको स्वार्थ छ । तर भारतको त्यो स्वार्थको विरोधमा हामीले भारतिय नागरिकलाइ ढुंगामुढा गरेर समस्याको समाधान गर्न खोज्नु हाम्रो मुर्ख्याँइ हो । हामी मानव हौ, त्यो भन्दा पनि हामी नेपाली हौं । हाम्रो संस्कार र संस्कृतिले अरुको घृणा हैन सम्मान गर्न सिकाएको छ । त्यसैले भारतको राजनैतिक प्रतिशोधमा त्यहाँका जनतालाइ ढुंगा नहान्ने की?
संविधान बनिसकेपछी नेताहरुले भाषण गरे, भारतले नाकाबन्दि गरेपनि हामी नेपाली बाँच्न सकिन्छ भन्दै कुर्ले । हामी नेताकै पछीपछी तालि बजायौँ । फेसबुक ट्वीटरमा स्वभिमानी नेपालीको दुहाइ दियौं, गोर्खाली हौं भन्दै छाति ठूलो बनायौं, र भारतको खिलाफमा उत्रीयौँ । भारतको गाली गर्ने नेतालाइ वाही वाही गर्यौ । तर त्यसो गरिरहँदा सोचेनौ, हामीले खाने चामल देखि दाल, तरकारी, नुन, तेल, मसला, चिनी, मुख धुने साबुन, पानी सफा गर्ने फिल्टर र पानी तताउँने ग्याँस सम्म त्यही भारतबाट आउँछ ।लामो समय कल्पना नगरौं मात्र दश दिन भारतले दैनिक उपभोग्य बस्तुहरु निर्यात बन्द गरिदिनेहो भने हामी भोकमरिले छटपटाउने छौं । करोडौँको गाडीमा चढ्ने नेताले खुलामन्चमा “हामी नेपाली साइकल चढ्छौँ” भन्दै गर्जँदा ताली बजाउने हामीले सोचेनौँ “२ दिन भारतले तेल बन्द गरिदियो भने हाम्रो भएको जागीर चट हुन्छ, सामान्य विरामीको उपचार अभाबमा अकालमा ज्यान जान्छ।”
भुपरिबेष्ठित देश, प्रयाप्त स्रोत र साधनको कमी, ढुवानीमा समस्या, लगायतका कारणले दैनिक जिवनयापन देखि विकास र पुनर्निर्माण सम्मको लागी कि दक्षिण गुहार्नु पर्छ कि उत्तर । हवाइयातायतमा सामान ढुवाली गर्नकोलागी पनि सुविधा सम्पन्न हवाइसेवा छैन नेपालसँग । यस्तो कठिन स्थिति भएको देशमा जनताको भोगाइ मन्चमा गएर भाषण गरेको जस्तो सहज छैन । भारतले नाकाबन्दि गरे चीनबाट ल्याइन्छ भन्ने विकल्प हुन सक्छ । तर आँखा झिमिक्क गर्दा चीनवाट दैनिक उपभोग्य बस्तु ल्याउन सम्भब छैन । त्यसको लागी बाटोघाटो र नाका खुलाहुनुपर्छ । र चीनबाट ल्याइ हालेपनि भोली दिगो नहुन सक्छ । अहिले भारतले हेप्यो भने भोली चीनले पनि हेप्नसक्छ । चीनपनि फरक देश हो, उसको स्वार्थ विना हामीलाइ सहयोग गर्छ भन्ने भ्रममा नपरौं । पहिले आफु आत्मनिर्भर हुनुपर्छ । अर्काले देला र खाउँला भनेर देश कति चलाउनु? देशका भएका कारखाना बन्द गराउने, आन्दोलन र बन्द हड्ताल गरेर युवालाइ खाडीमा धकेल्ने अनि भारतको विरोध गरेर राजनैतिक उचाइ खोजेर मात्रै हुदैन ।
बुद्धिमान नेताले टुडिखेलमा भाषण हैन, भारतसँग बार्ता गरेर समस्याको समाधान गर्छ । यदि देश विकास गर्न प्रचन्डले भाषण गरेजस्तो सजिलो भैदिएको भए हामी अहिले विश्वको पहिलो सम्पन्न राष्ट्र भइसक्थ्यौं होला । तर विकास र समृद्धि भाषण जस्तो सस्तो र सजिलो छैन । भाषण गरेर एक पटक चुनाव जितिएला, तर दिगो राजनैतिक सक्रियता र जनमतको लागी देश र जनताको बारेमा सोच्नुपर्छ । केपी ओलीका उखान टुक्काले काम गरिदिएको भए अहिलेसम्म हामी कति विकसित र चेतनशील हुन्थ्यौं होला? विचरा शुशिल कोइरालाको त न बोली, न काम । उनीबाट के आशा गर्नु?
हामीले आफैले चुनेका प्रतिनिधीले संविधानसभाबाट संघिय गणतान्त्रीक नेपालको संविधान पाएका छौं । अब एउटा अध्यायको अन्त्य भएको छ, अब आन्दोलन र अधिकार भन्नु भन्दा विकास र ममृद्दी तिर लाग्नुपर्छ। जब देश समृद्द हुन्छ तब सबैले अधिकारमा महशुस गर्छन् । संविधान बनाएर देशलाइ घाटा भएको छैन, यसलाइ स्वागत गरौं । यो हामी सबैले बनाएको संविधान हो । संविधान बन्नुको श्रेय जति प्रधानमन्त्री शुशिल कोइरालालाइ जान्छ, त्यति नै एमाले अध्यक्ष खड्ग प्रसाद ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाललाई जान्छ । विगतमा आफ्ना माग तेर्साएर सदन अबरुद्ध गर्ने मधेस केन्द्रित दलहरुले पनि संविधान बन्ने बाटो खोलिदिएका हुन् । उनीहरु अधिकारको लागी संविधानसभा घेरेरै बसेका हुन्थे भने दोस्रो संविधानसभाले त्यति सहज ढंगले संविधान पारित गर्ने सम्भावना थिएन । मधेसी नेताहरु त तिमीहरु संविधान बनाउ हामी जनतासँग ठिक्क पार्छौं भने जसरी सडकमा गए । संविधान सभामा धर्ना दिनु भन्दा भारतिय दुताबासमा धर्ना दिए । त्यसकारण यो संविधान बन्नुको श्रेय तीन ठूला दलका नेतालाइ भन्दा पनि मधेस केन्द्रित नेताहरुलाइ जान्छ ।
अरुलाइ दोश दिएर भाषण गर्नु भन्दा पहिला आफू सम्पन्न हुन सक्नु पर्छ । अब हामीले हाम्रा तालिलाइ खुम्चाउँनु पर्छ । जब नेपाल सम्पन्न हुने छ र नेपालले भारतबाट दैनिक उपभोग्यबस्तु किन्ने होइन भारतलाइ बेच्ने सामर्थ्य राख्नेछ तब हामीले यस्ता प्रकृतिका भाषणमा तालि बजाउँला । अहिले संविधान कार्यन्वयन गर्न मद्दत गरौं, आफू अधिकार भन्दै ढुंगामुढा गर्नु भन्दा आत्मनिर्भर र स्वभिमानी बन्न सिकौं । कसैले देला र खाउला भन्नु भन्दा आफ्ना नङ्ग्रा खियाएर खान सिक्यौं भने हामी केहीबर्षमै भारत भन्दा सम्पन्नशाली हुने छौ । त्यपछी भारत हामीसँग सहयोग माग्न आउनेछ । अनि भारतको नाका बन्द गर्ने नगर्ने हाम्रो कुरा !!
Twitter@tejbinod

