
विनोद पौडेल
मेरा एक जना खरिदार मित्र छन् । करिब दुइ वर्ष पहिले लोकसेवा आयोग पास गरेर खरिदारको जागिर खाएका उनले अहिले गाउँ विकास समितिमा सचिवको जिम्मेवारी समाल्छन् । खरिदारको जागिर पाउनु पुर्व उनी सामान्य व्यक्ति थिए । चिया पसलमा चियाको विल तिर्ने बेलामा केहीगरि पर्स निकाल्नु परिहाल्छ कि भन्ने डरले अलि पछाडी बस्ने मध्येका हुन उनी । साथीहरुसँग माइक्रो बसमा यात्रा गर्दा पनि पाएसम्म सबैभन्दा पछाडीको सिट रोज्थे ।
अहिले भने उनको जीबनले फरक मोड लिएको छ । उनको जीबन शैलीमा पहिलेको भन्दा आकासपातालको फरक देखिन्छ ।पैसा, बैंक ब्यालेन्स, घर, घडेरी, सवारी साधन उनका लागी अब सामान्य भइसके । अलि ठट्यौली पाराका उनले आफ्ना घडेरी किनेका र घर बनाउने सम्मका योजना सुन्दा मलाइ अचम्म लाग्यो । हिजो आफुसँगै चप्पल पड्काउँदै हिड्ने साथीले जाबो खरिदारको जागीर सुरु गरेको दुई वर्ष पुग्दा नपुग्दै जीबनै कायापलट भए जसरी कुरा गर्दा त्यति छिट्टै पत्याउन पनि गाह्रो हुँदो रहेछ ।
“मान्छे युरोप अमेरिका किन जान्छन्? हामीलाइ त अमेरिका यही छ । महिनामा तीन लाख रुपैयाँ बचाइन्छ । बिदेश गएर किन रापिनपर्यो?” सरकारबाट मासिक सालाखाला १४ हजार रुपैया तलब थाप्ने उनले ३ लाख रुपैयाँ कमाइ हुन्छ भन्दा अचम्म लाग्यो मलाइ ।
उमेरले तीस वर्ष पनि नकाटेका मेरा यि मित्र एउटा उदाहरण मात्र हुन् । पढेलेखेका र देशको लागी केही गर्छ कि भन्ने आशा भएका युवाहरु पनि सरकारी जागीर पाएपछी अनेकौ माध्यमबाट पैसा कमाउने र सम्पत्ति जोड्ने धन्दामा लाग्छन् । आजकल आफ्नो नियमित तलबमा काम गर्ने सरकारी कर्मचारी त को होलान र? भएपनि चामलमा बयाँ जस्तै एकादुई।
केही समय अगाडी यस्तै विषयमा गाउँका एकजना नायव सुव्वा दाइ सँग भलाकुसारी भएको थियो । नायब सुब्बाको मासिक तलब ९ हजार थियो त्यतिबेला । जागिर खाएको ४/५ वर्षमै काठमाडौ र पोखरामा विघौं जग्गा र घरघडेरी जोडेका उनले म सँग गरेको फुर्ती आज पनि मेरो मानसपटलमा आइरहन्छ । भन्सारमा काम गर्ने उनको घर पायकको जागिर, लाखौंको कमाइ, र छोटो समयमै फेरिएको जीबनशैली देख्दा अचम्मित भएको थिएँ म। अहिले अधिकृत बनिसकेका उनको कमाइ र रहनसहन हाम्रो सोचाइको परिधिमा अट्न सक्ने जति पक्कै छैन यतिबेला ।
माथीका दुई दृष्टान्तबाट के देखिन्छ भने लामो समयदेखि हुन नसकेको स्थानिय निकायको निर्वाचन र देशको राजनैतिक अस्थिरताले निजामति सेवामा अराजकताले गाँजो हालेको छ । जसले जे गरेपनि हुने तर कार्वाही नहुने परिपाटीले कर्मचारीहरुमा डर छैन, उनीहरु नियममा पनि बस्न चाहदैनन् र नियममा बस भनिदिने पनि कोही छैन । बिभिन्न बाहनाका बिदा र सुविधा लिएर लामो समयपछी कार्यलय पुग्ने कतिपय कर्मचारीहरु हाँजिर गरेर कार्यकक्षमै तास र कम्युटरमा गेम खेलेर समय विताउने गर्छन् । कार्यलयको काम र सेवाग्राहिको सेवा भन्दा पनि विज्ञान प्रविधीको दुरुपयोग र मोजमस्ति मै सकिन्छन् कर्मचारिका दिनहरु ।
वि.स. २०५४ यता स्थानिय निकायको चुनाब भएको छैन, जसकारण दुइ/तीन वटा गाउँ विकास समितिको सचिवको जिम्मा एक जना नायब सुव्वा अथवा खरीदारले लिने गरेका छन् । एक जना सचिबले त्यति धेरै गाविसको बजेट, योजना, विकास, तलबभत्ता लगायतका सम्पूर्ण कामकाज कसरी सक्ला? हुटिट्याङ्ले आकाश धानेँ भने जस्तो पाराले धानिएका स्थानिय निकायमा विकास, शुशासन, र चुस्तता होला भन्नु कल्पना बाहिरको कुरा भयो ।
अझै अचम्म त के छ भने, यसरी गाविस सचिबको जिम्मा पाएका कर्मचारी काम गर्ने कार्यालय सम्म चाही कहिल्यै पुग्न नपर्ने रहेछ । जिल्ला सदरमुकाममा बसेर दुइ/तीन वटा गाविसको काम एकै जनाले सक्नुपर्ने रहेछ । कामलिएर सेवाग्राहीहरु दुर्गम गाउँबाट सदरमुकाम आउँछन् । सर भनेर नमस्कार ठोक्छन्, अझै सजिलो कामलाइ पनि एकछिन आलटाल गरिदिनेहो भने अलिअलि दक्षिणा झर्न थाल्छ, लन्च डिनरको ब्यवस्था त सामान्य भइहाल्यो ।
देश र जनताको सेवा गर्नको लागी “राष्ट्र सेवक” नाम पाएका सेवाप्रदायक सरकारी कर्मचारीहरु जरुरी काम लिएर सरकारी कार्यालय पुग्ने सेवाग्राहीलाइ विभिन्न बाहनामा सेवाबाट बन्चित गर्छन् । कतिपय कर्मचारीले त सेवाग्रहीलाइ “रैती” सम्झन्छन् । विकट गाउँबाट नागरिकता बनाउन सदरमुकाम पुग्ने सेवाग्राहीहरु कर्मचारिका ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्तिले एकछिनमै सकिने नागरिकता बनाउने कामको लागी २/३ दिन कार्यालय धाउनुपर्ने बाध्यता छ । आफन्त र पहुँच हुने सेवाग्राहीको काम छिनमै फत्ते गरिदिने कर्मचारीले कसैको पहुँच र भनसुन नचल्ने सेवा ग्राहिलाइ अनेक बाहानामा ढिलासुस्ती गरिदिन्छन् । जुन कर्मचारीको आफ्नो धर्म र नेपाल सरकारको निजामति कर्मचारि आचारसंहिता विपरित छ, तर पनि यसको निगरानी र कारवाही हुदैन ।
कारवाही भइ हाल्यो भने पनि देखावटी मात्र हुन्छ । कारबाही मै लेनदेन हुन्छ । हुन त कार्वाही गर्ने निकायका डाडु पन्यु धारीहरु नै यही संस्कार बाट हुर्केका छन्, नियम कानुन बनाउने तहमा पुगेकाहरु पनि धन, सम्पत्ति भनेपछी मरिहत्ते गर्छन । हरेक क्षेत्रमा घुसखोरी, भष्ट्राचार र अनियमितता छ । गाउँ विकास समिति देखि राज्य संचालन सम्म अराजकता र लापारबाही छ । कसैलाइ कसैको डर छैन । पुलिस देखि अदालत सम्म, खरिदार देखि मन्त्री सम्म सबै उस्तै छन् । राज्यमा जस्ले जे गरेपनि हुन्छ ।
मेरो बालापनदेखि नै मलाइ सरकारी कर्मचारी बन्ने अथवा राष्ट्र सेवाको कुनै पदमा बसेर काम गर्ने रहर हो। सरकारी सेवाको जुनसुकै पदमा रहन चाहिने शैशिक योग्यता पनि छ म सँग । मलाइ अर्को जन्ममा विश्वास छैन । धर्म कर्ममा पनि त्यति ध्यान छैन । पैसा कमाएर पाप लाग्छ भन्ने सोच त अझै पटक्कै छैन । हजुरबाका पालादेखि नभएको शुशासन र देश विकास म एउटाले भ्रष्टचार नगरेर होला भनेर सोच्ने मुर्खता पनि म गर्दिन । जो सँग पैसा छ त्यसको पछीपछी लाग्ने हाम्रो समाजमा भ्रष्टचार गरेरै भए पनि पैसा कमाउने हो भने सबैको हाइ हाइ पनि भइने, राम्रा राम्रा कार चढ्न र ठूलो बंगालामा बस्ने रहर पनि मेटिने । छोराछोरीलाइ राम्रो स्कुलमा पढाउन पनि पाइने । चैनको जागीर, विन्दास जिन्दगी । काम गर्न सक्ने उमेर सम्म जागीर, त्यपछी पेन्सन । यसो भनिरहँदा मलाइ हाकिम कै जागिर चाहियो भन्ने लोभ भने होइन । मलाइ त केही वर्षको लागी मेरा मित्रको जस्तै मासिक ३ लाख रुपैयाँ जति कमाइ हुने खरिदार भए पुग्छ ।
E-mail: [email protected]
Twitter@tejbinod

